असफल चलचित्रका सफल नायक


posted by Lox Guragai at www.SpokaneNepal1.blogspot.com  
पछिल्लो बर्षमा महानायक राजेश हमालले अभिनय गरेका चलचित्रले त्यस्तो कुनै चमत्कार देखाउन सकेको छैन तर पनि उनी निर्माता निर्देशकको रोजाईमा अग्रपंक्तिमा नै पर्छन् । यानकी उनी असफल चलचित्रका सफल नायक हुन् । 
०६७ सालमा राजेशले अभिनय गरेका थुप्रै चलचित्र रिलिज भए तर कुनै चलचित्र पनि सफल हुन सकेनन् । जसले गर्दा उनी ०६७ का असफल नायक ठहरिए । आफू असफल भएपनि राजेशले केहि समय अघि अर्न्तवार्ता दिने क्रममा भनेका थिए, '०६७ साल चलचित्र उधोगका लागि असफलको बर्ष भएपनि मेरा लागि भने सफल बर्ष बन्न गयो ।' उनको सो भनाईबाट के प्रस्ट हुन्छ भने, उनले ०६७ सालमा थुप्रै चलचित्र र बिज्ञापनमा अभिनय गरेर पैसा कमाए । तर के पैसा कमाउँदैमा उनी सफल मानिन्छन् त ? पक्कै पनि हुँदैनन् । किनकी सफल हुनका लागी उनले अभिनय गरेका चलचित्र पनि व्यवसायिक रूपमा सफल हुनु पर्छ । जुन चलचित्र व्यवसायिक रूपमा सफल हुन्छ त्यो चलचित्रलाई नै दर्शकले रूचाएको मानिन्छ ।

०६७ सालमा राजेशले अभिनय गरेका कुनै पनि चलचित्र सफल हुन नसकेपनि ०६८ सालमा भने उनले अभिनय गरेका थुप्रै चलचित्र सफल हुने चलचित्रकर्मीको बुझाई छ । सायद उनले अभिनय गरेका चलचित्र पछिल्लो बर्षमा भन्दा बढि यस बर्ष रिलिज हुँदैछन् । खुसीको कुरा त यो छ कि उनले अभिनय गरेका चलचित्रहरू अहिले लगातार रूपमा प्रदर्शन हुँदैछन् । जुन चलचित्रहरूबाट राजेश पनि निकै आशावादी छन् । उनी भन्छन्, 'सायद यो बर्ष मेरा अधिकांश चलचित्रहरू सफल हुन्छन् होला ।'

नयाँ बर्षको शुरूवातसँगै उनले अभिनय गरेको चलचित्र 'दशगजा' सार्वजनिक भयो र यो चलचित्रले राम्रै सफलता पाईरहेको छ । यसैगरी 'दशगजा' लगत्तै उनले अभिनय गरेको अर्को चलचित्र 'जय शिब शंकर' रिलिज हुँदैछ । जय शिब शंकर रिलिज भएपछि उनले फरक भुमिका निर्वाह गरेका तीन चलचित्र सँगसँगै रिजिल हुँदैछन् । जसमा 'साहसी', 'दुलही' र 'हात लाग्यो शून्य' रहेका छन् । यि तीनै चलचित्रका निर्माता राजेशको भुमिकालाई दर्शकले रूचाउने दाबी गरेका छन् ।

भोजबहादुर गुरूङको चलचित्र 'साहसी' मा ताईची गुरूको भुमिकामा प्रस्तुत भएका राजेशलाई अन्य चलचित्रमा भन्दा फरक देखिएको र अभिनय पनि धेरै राम्रो भएको निर्देशक बासुदेब पोखरेल बताउँछन् । उनी भन्छन्, 'साँच्चिकै राजेश दाईले यो चलचित्रमा राम्रो अभिनय गर्नु भएको छ । उहाँलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ ।' चलचित्र 'दुलही' का निर्देशक बाबुराम ढकाल चलचित्र सफल हुने कुरामा ढुक्क छन् । कारण राजेशले बिहे गर्न लागेको खबर सञ्चारमाध्यममा आईरहेको बेला उनकै जीवनको सेरोफेरोमा आधारित रहेर निर्माण गरिएको चलचित्र 'दुलही' मा उनी बेहुलाको भुमिकामा प्रस्तुत भएका छन् । जसले गर्दा पनि यो चलचित्र चल्न सक्नेमा निर्देशक ढुक्क छन् ।

यता नवनिर्देशक बिजय बिक्रम बस्नेतले निर्देशन गरेको चलचित्र 'हात लाग्यो शून्य' पनि दुलही सँगसँगै रिलिज हुने बताईएको छ । उक्त चलचित्रमा राजेश बिल्कुलै नयाँ गेटअपमा प्रस्तुत भएका छन् । कञ्जुस मधेसी पात्रको भुमिका निर्वाह गरेका राजेशलाई सो चलचित्रमा बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारीकोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनि पान चपाउँदै थोत्रो स्कुटरमा चढेर हिँड्ने पात्रको रूपमा देख्न सकिन्छ । पूर्ण रूपमा कमेडी चलचित्र भनिएको सो चलचित्रमा फरक भुमिकामा प्रस्तुत हुन पाउँदा महानायक पनि दङ छन् । उनी भन्छन्, 'यस्तो चरित्र निभाउन पाउनु मेरो अवसर हो ।'

यसैगरी राजेश हमालले अभिनय गरेको अर्को चलचित्र 'सपना' पनि छिट्टै नै सार्वजनिक हुँदैछ । जुन चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । यि बाहेक राजेशले अभिनय गरेका थुप्रै चलचित्र यस बर्ष रिलिज हुँदैछन् । यसरी एकपछि अर्को गरी रिलिज हुनु राजेशका लागि त खुसीकै कुरा हो तर एउटै हिरोका चलचित्र एकपछि अर्को गरि रिलिज हुँदा कतै दर्शकलाई मोनोटोनस हुने त हैन ?  यो बिषयलाई भने सम्बन्धित पक्षले ध्यान दिन जरूरी छ । तर जे जस्तो भए पनि आशा गरौं कि गत बर्षका असफल हिरो यस बर्ष भने सफल हुनेछन् । राजेश हमाललाई फिल्मीखबर डटकमको शुभकामना !
 

0 comments:

Post a Comment